

डार्विनमा ANJA को कम्युनिटी कन्सल्टेसन तथा दसैँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
डार्विन, अस्ट्रेलिया। अस्ट्रेलियन नेपाली जर्नलिस्ट्स एसोसिएसन (ANJA) को आयोजनामा डार्विनमा कम्युनिटी कन्सल्टेसन तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। आइतबार, १८ अक्टोबर २०२६ मा जिङ्गिली पार्कमा आयोजित कार्यक्रममा नेपाली समुदायका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो।
नेपाली समुदाय र सञ्चारकर्मीबीच संवाद, सहकार्य तथा आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा समुदायका विविध सरोकारका विषयमा विचार आदानप्रदान गरिएको थियो। साथै, बडादसैँको अवसरमा शुभकामना साटासाट गर्दै समुदायमा आपसी सद्भाव, एकता र भाइचारालाई थप सुदृढ बनाउने प्रयास गरिएको थियो।
विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता
कार्यक्रममा NRNA–NT का संयोजक त्रिलोचन सापकोटा, नेपाली एसोसिएसन अफ नर्दर्न टेरिटोरी (NANT) का अध्यक्ष भवानी पौडेल, Social Welfare Committee का अध्यक्ष बाबुराम भट्टराई, Darwin Hearts Football Club का अध्यक्ष फिरोज राना तथा NRNA NCC का सदस्य पुष्कर अधिकारीलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, NRNA–NT तथा NANT का पूर्वअध्यक्षहरू विष्णु छापागाईं, सञ्जीव ढकाल, सुदीप श्रेष्ठ, निरज गुरुङ र प्रतिभा देवकोटालगायतको सहभागिता रहेको थियो।
विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा तथा समुदायका सदस्यहरूको उपस्थितिले कार्यक्रमलाई समुदायबीच संवाद र सहकार्य अभिवृद्धि गर्ने साझा मञ्चका रूपमा स्थापित गर्न सहयोग पुर्याएको थियो।
सहयोगी संस्था तथा स्वयंसेवकप्रति आभार
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने विभिन्न संस्था तथा व्यवसायप्रति आयोजक ANJA ले विशेष धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रमका सहयोगी संस्थाहरूमा Wealthmax Group Darwin, Parpy Facade Solution Darwin, Numio Group Darwin, Grace International Darwin र Rental Nest रहेका छन्।
आयोजकले सहयोगी संस्थाहरूको साथ र सहकार्यप्रति आभार व्यक्त गर्दै कार्यक्रमको तयारी, व्यवस्थापन तथा सञ्चालनमा योगदान पुर्याउने स्वयंसेवक, सहयोगी साथीहरू र शुभेच्छुकहरूलाई पनि धन्यवाद दिएको छ।
त्यसैगरी, कार्यक्रममा उपस्थित भई सहभागिता जनाउने सम्पूर्ण अतिथि, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा डार्विनवासी नेपाली समुदायप्रति ANJA ले आभार व्यक्त गरेको छ।
समुदाय र सञ्चारकर्मीबीच सहकार्य विस्तार गर्ने लक्ष्य
ANJA ले आगामी दिनमा पनि नेपाली समुदायका आवाज, विचार, आवश्यकता र सरोकारलाई प्राथमिकतामा राख्दै समुदाय र सञ्चारकर्मीबीचको संवाद तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस्ता कार्यक्रमले समुदायका साझा चासोका विषय पहिचान गर्न, आपसी सम्बन्ध सुदृढ बनाउन र नेपाली समुदायका मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको समापनसँगै ANJA ले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै बडादसैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
अहिलेसम्म मिडिया | Ahilesamma Media
