काठमाडौँ। बडादसैँ तथा शुभ दीपावलीको अवसरमा यात्रुको आवागमन सहज बनाउन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणका लागि तथा उपत्यकाबाहिर लामो दूरीमा यात्रा गर्ने यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सामाजिक सञ्जालमा प्रकाशित विवरणअनुसार, चाडपर्वका बेला यात्रुलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालन गरिएको हो।
विवरणअनुसार, दसैँको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहार अवधिभर काठमाडौँबाट झापाको काँकरभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक दुईवटा बस निःशुल्क सञ्चालन भइरहेका छन्। उक्त सेवा बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा अन्य यात्रुका लागि उपलब्ध गराइएको जनाइएको छ।
त्यसैगरी, काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवागमन सहज बनाउन कार्तिक २ गते सोमबारदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दुईवटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था मिलाइएको विवरणमा उल्लेख छ।
उपत्यकाभित्र सञ्चालन हुने बसमध्ये एउटा कलङ्की र बल्खु हुँदै कोटेश्वरसम्म पुग्नेछ भने अर्को बस बालाजु र नयाँ बसपार्क हुँदै चक्रपथ परिक्रमा गर्ने गरी व्यवस्था मिलाइएको छ।
यात्रुको चाप, अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै उपत्यकाभित्रको निःशुल्क बस सेवा थप एक दिन विस्तार गर्ने तयारीसमेत गरिएको विवरणमा उल्लेख छ।
चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले निःशुल्क बस सेवाले यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
स्रोतः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सामाजिक सञ्जालमा प्रकाशित विवरण।
